एउटा नौलो प्रयास!!

एका बिहानैको मिर्मिरेमा व्हिस्कीको चुस्की लिंदै विलिन हुन लागेको चन्द्रमा टटोल्दै निन्द्रादेवीको पर्खाईमा बसीरहेको छु| रातभरिको अनिदो शरीर थकित छ| आँखाहरु लोलाईसकेका छन् तैपनि निन्द्रा भने लागेको छैन| मनमा अनेकौं कुराहरु खेलिरहेका छन्| निन्द्राको अभावले हो कि व्हिस्की को नशाले हो, ठम्याउने प्रयत्न गरिन मैले|

मैले त्यसदिन पक्कै पनि आफुले आफुलाई नंग्याउने अठोट गरेको हुनुपर्छ| गाँजा र चरेश को धुँवामा रुमल्लिएको ति दिनहरुको स्मरणले मस्तिस्क ताजा भयो| क्याम्पसको कक्षाहरु छोडेर माथि बुढासुब्बा डाँडामा राँगाको सुकुटीको साथमा छ्याँग र निगार पिएको झझल्को आयो मनमा| क्याम्पस जाने निउमा होस्टेलबाट एउटा कापी च्यापेर हिड्थे म, तर मेरो दिन बित्थ्यो छाता चोकको पूल हाउसमा| घर बाट ट्युसन पढ्न मागेको पैसा (भविस्यमा डाक्टर, इन्जिनियर बन्न I.Sc. पढदै गरेको छोरोले मागेको, बाऊले नपठाउन पनि कसरी) गिल म्यारी र चुरोटमा सकिन्थ्यो| कोरेक्स र प्रोक्सिबोनको खर्च चाहिँ बेला-बेलामा किताब किन्ने बहानामा पुरा गरिन्थ्यो|

यसैबीच एकदिन घर गएको, आमालाई देखिन| बाऊले घरबाट निकाली सकेछन्| भाई-बहिनीहरुले रुँदै सुनाए| दु:ख लाग्यो, बाऊसँग ठुलो महाभारत भयो, मेरो केहि लागेन, कसैको केहि लागेन| म धरान फर्के, फेरी त्यही सुन्दर संसारमा| I.Sc. प्रथम वर्ष त जसोतसो पास गरियो| मेरा पखेटाहरु झनै ठुला भए, जाँड-रक्सिको ठाउँ कोरेक्स र प्रोक्सिबोनले लियो| साथमा ब्राउन सुगर पनि थपियो| ब्राउन सुगरको साथ चाहिँ क्षणिक थियो| सारै महँगो, जहीतही नपाउने र मैले त्यसको आनन्द पनि त्यति लिन सकिन|

मेरो दिनचर्या यसरी नै व्यतित हुँदै गयो| बेला बेलामा आमालाई भेट्न जान्थे| "राम्ररी पढ्नु, ज्ञानी हुनु, बाऊसंग झगडा नगर्नु, ठुलो मान्छे बन्नु अनि मलाई नबिर्सिनु" भनेर सम्झाउन्थिन| आमाको कुराले मन चसक्क हुन्थ्यो| एक-दुई दिन मजाले पढ्थे, नोट-सोट सार्थे| कक्षाहरु सबै जान्थे| तर के गर्ने, कुकुरको पुच्छर बाह्र वर्ष भुंग्रोमा राखे नि बांगै भने झैँ म पनि तेस्रो दिन देखि फेरी त्यही नविन हुन्थे| आमालाई नबिर्सिने, ज्ञानी बन्ने सोचहरु सबै विलिन हुन्थे|

हुँदा-हुँदा समय बितेको पत्तै पाईएन| दोस्रो वर्षको परीक्षा पनि सकियो| घर गइयो, बाऊले डान्स रेस्टुरेन्ट खोलेका रहेछन्| त्यही डान्स रेस्टुरेन्टको झिलिमिलीमा एक-डेढ वर्ष मस्त रमाइलो गरियो| दोस्रा वर्षको परिक्षामा असफल भइयो| दुई वर्षे I.Sc. को खुड्कीलो पार गर्न तिन वर्ष लाग्यो| केटीहरु पनि सजिलै आए सजिलै गए तर व्हिस्कीले साथ छोडेन|

अचानक आफुले आफुलाई मध्यदिनमा मरुभूमिको बिचमा लडिरहेको पाँए| टाडा क्षितिजबाट कोहि आउँदै गरेको देखें| यसो नियालेर हेरेको एउटा भीमकाय प्राणी मै तिर लम्किरहेको थियो निकै तेज गतिमा, हातमा विशाल हतियार लिएर| हत्त न पत्त आँखा खोलेको, म त गुडगांवको आफ्नै कोठा माथिको छतको डिलमा टाउको अडेश लाएर निदायछु| हाथमा भएको व्हिस्कीको गिलासले भने साथ छोडेको रहेनछ| खुशी लाग्यो, आनन्दको अनुभूति भयो| व्हिस्कीको एक अन्तिम चुस्की पिए अनि आफ्नो बिस्तरा तिर लम्के, एउटा नया दिनको आशमा|

P.S. खाडी मुलुकको एउटा घर बाट कता कता मेरो कानमा "थुक्क जाँडे" को गुन्जन गुन्जियो| :-p

Comments

Anonymous said…
Ur nepali is as good as ur english. it was very well written, i enjoyed it(specially the last part).:) keep writing jade...

Popular posts from this blog

Monday Blues????

Offbeat...

Falling off a cliff..